कांग्रेस महाधिवेशन : तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै

मुख्य समाचार राजनीति समाचार

नेपाली कांग्रेसको कञ्चनपुरका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन हँुदैछ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज क्षेत्रीय अधिवेशन भइरहेको कांग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिनुभयो । राष्ट्रिय राजनीतिमा समेत परिचित नेता कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र नारायणप्रकाश साउदको गृहजिल्लामा नेता नता कार्यकर्ता चुनावी समूह बनाएर विभिन्न पदमा प्रतिस्पर्धा गरिरहेका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता गोपीप्रसाद उपाध्याय र हरिचन्द ठकुरीबीच सभापति पदमा प्रतिस्पर्धा हुँदैछ । उक्त निर्वाचन क्षेत्रमा संविधानसभा सदस्य दीवान विष्टको राम्रो पकड मानिन्छ । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा लालबहादुर सिंह र नवराज जोशीबीच क्षेत्रीय सभापतिका लागि भिडन्त हँुदैछ । उक्त क्षेत्र कांग्रेस नेता तथा पूर्वमन्त्री साउदको पकड राम्रो रहेका क्षेत्रका रुपमा लिइन्छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा केशवबहादुर चन्द र गणेशसिंह नेगीबीच सभापतिका लागि निर्वाचन हुँदैछ । नेता रमेश लेखकको पकड क्षेत्र मानिएको उक्त क्षेत्रमा यसअघिका निर्वाचनमा लेखक निकट नेता चुनावी प्रतिस्पर्धामा प्यानलसहित विजयी भइसकेका छन् । तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेस नेता तथा कार्यकर्ताले चुनावी प्रचारप्रसारलाई बिहानैबाट तीव्रता दिएका छन् ।

कांग्रेसमा निर्वाचनको रौनक

बागलुङ ः मतदानमार्फत आइतबार प्रदेश निर्वाचन क्षेत्रमा पदाधिकारी र महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाएको नेपाली काँग्रेस बागलुङ आजदेखि सङ्घीय क्षेत्रको अधिवेशनमा होमिएको छ ।

बागलुङ–१ को सदरमुकाम र २ को पश्चिम बुर्तिबाङ बजारमा अधिवेशन हुँदैछ । अधिवेशनले क्षेत्रीय समितिका पदाधिकारीसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछ । उद्घाटन सत्रपछि आजै साँझदेखि निर्वाचन प्रक्रिया आरम्भ हुने जनाइएको छ ।

आसन्न १४औँ महाधिवेशनका लागि प्रतिनिधि चुन्ने थलो भएकाले पनि क्षेत्रीय अधिवेशनलाई कांग्रेसजनले महत्वका साथ लिएका छन् । मन्त्रीदेखि केन्द्रीय तहका नेतासम्म अधिवेशनका लागि भूगोलमा केन्द्रित भएका छन् ।

सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशनबाट २६ केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने नेपाली कांग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतमले जानकारी दिनुभयो । “क्षेत्रीय सभापतिसहित २६ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चुनिन्छन्”, उहाँले भन्नुभयो, “क्षेत्रीय कार्यसमिति पनि यही अधिवेशनले तय गर्छ ।”

कार्यसमितिमा सभापतिसहित, दुई सचिव, दुई सहसचिव र बाँकी सदस्य निर्वाचित हुनेछन् । निर्वाचनको सम्मुखमा पदाधिकारी र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारका आकाङ्क्षी सक्रिय देखिन्छन् । कायकर्ता भेटघाट र प्रचारप्रसारलाई तीव्र पारिएको छ ।

उम्मेदवार प्यानल नै बनाएर निर्वाचनमा भिड्ने तयारीमा छन् । बागलुङ–१ को सभापतिमा चण्डीप्रसाद शर्मा पौडेल र खड्कबहादुर थापाले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । बागलुङ–२ को सभापतिका लागि तीन नेता आकाङ्क्षी देखिएका छन् ।

नरजङ्ग घर्तीमगर, जोकलाल बुढामगर र गगन पुनमगरले सभापति पदमा आफ्नो दाबी अघि सार्नुभएको छ । सचिव पदमा हिमबहादुर भण्डारी र धर्म घर्तीको नाम चर्चामा छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षीको सङ्ख्या झन ठूलो छ ।

निर्वाचित हुने सङ्ख्याभन्दा दोब्बर बढीले आफ्नो उम्मेदवारी रहने बताइरहेका छन् । बागलुङ–१ को हकमा पनि स्थिति उही छ । मनोनयन दर्ताका क्रममा त्यो सङ्ख्या अझ बढ्ने अनुमान छ । सकभर सबै पदमा सर्वसम्मतिको प्रयास हुने र सहमति नहुने स्थितिमा मतदानबाट टुङ्गो लगाइने कांग्रेसले जनाएको छ ।

क्षेत्रीय निर्वाचनलगत्तै यही मङ्सिर १० गते जिल्ला अधिवेशन तोकिएको छ । जिल्ला सभापतिका लागि अहिलेसम्म जगदीशचन्द्र उपाध्यायले मात्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँ अघिल्लो अधिवेशनमा अहिलेका सभापति दीपेन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो ।

विधानको व्यवस्थाअनुसार महाधिवेशन प्रतिनिधि नबनी जिल्ला सभापतिको उम्मेदवार बन्न नपाइने भएकाले महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि सभापतिका आकाङ्क्षी थपिने देखिन्छ । जिल्ला अधिवेशन पनि लगत्तै हुने भएकाले कांग्रेसमा निर्वाचनको सरगर्मी थप बढेको छ ।

आइतबार मात्रै कांग्रेसले जिल्लाका चार प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेको थियो । अधिवेशनबाट बागलुङ–१ (क) को सभापतिमा हरिबहादुर जिसी, (ख) मा दलबहादुर श्रीस राना, बागलुङ–२ (क) मा तिलक घर्तीमगर र (ख) मा मेषलाल शर्मा विजयी हुनुभएको थियो ।

तीन क्षेत्रमा मतदानबाट नेतृत्वको छिनोफानो भए पनि २ को (क) मा सर्वसम्मतरुपमा पदाधिकारी चयन गरिएको थियो । प्रदेश महाधिवेशन प्रतिनिधिका लागि भने त्यहाँ पनि मतदान भएको थियो । कांग्रेसले गत कात्तिकमै वडा र स्थानीय तहका अधिवेशन सम्पन्न गरिसकेको छ । अब जिल्ला, प्रदेश हुँदै राष्ट्रिय महाधिवेशनतिर कांग्रेस केन्द्रित भएको छ ।

क्षेत्रीय सभापतिमा जोशी र साउद विजयी

डोटी ः नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत आज सम्पन्न डोटीको प्रदेशसभाको मतपरिणाम सार्वजनिक भएको छ । प्रदेशसभा (क) को सभापति पदमा धर्मराज जोशी र (ख) मा भैरवबहादुर साउद विजयी हुनुभएको छ ।

प्रदेश ‘क’ मा जोशी भरतबहादुर कठायतसँग १८० मतको अन्तरले विजयी हुनुभएको हो । जोशीले ३५४ मत प्राप्त गर्नुभएको छ भने कठायतले १७४ प्राप्त गर्नुभएको छ । कूल ५५४ मत खसेकोमध्ये २६ मत बदर भएका निर्वाचन समितिले जनाएको छ ।

यसैगरी प्रदेशसभा (ख) सभापति पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा साउद ७७ मतको अन्तरले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी टीका फुलाराले १३८ मत प्राप्त गर्नुभएको थियो । अर्का प्रतिस्पर्धी बुद्धिसागर विनाडीले ११८ मत प्राप्त गर्नुभएको थियो ।

प्रदेशसभा (क) मा उपसभापति पदका लागि तीन जनाबीच भएको मतदानमा ३१८ मत ल्याएर अङ्क खड्का र ३२८ मत ल्याएर रमेश रोकाया विजयी हुनुभएको छ । अर्का प्रतिस्पर्धी उमेश ओझाले २०२ मत प्राप्त गर्नुभएको छ । उता प्रदेशसभा (ख) मा भने उपभापतिमा शेरबहादुर बम र किरण मल्ल निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रदेशसभा (क) को सचिवमा नरेशकुमार खड्का र लक्षीराम कुँवर विजयी हुनुभएको छ भने प्रदेशसभा (ख) को सचिवमा दीपक बोगटी र हर्कबहादुर विष्ट विजयी हुनुभएको छ । यस्तै प्रदेशसभा (क) को सहसचिवमा डबल बोगटी र प्रकाश साउद विजयी हुनुभएको छ भने प्रदेशसभा (ख) को सहसचिवमा सोभानसिंह रावल र डम्बर जोशी निर्वाचित हुनुभएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

Facebook Comments Box